जनकपुरधाम, २० साउन । मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीमण्डललाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेस प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।

अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र यिनका मन्त्रीमण्डल लगायतका कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन प्रदेश प्रमुख समक्ष संघले माग गरेको छ ।

ज्ञापनपत्रमा अख्तियार दुरुपयोग आयोगले २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये ‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरुको आधारमा साउन १८ गते लामो सुक्ष्म अध्ययन र छानबिन पश्चात् मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भूक्तानी कार्य गर्दासम्म मुख्यमन्त्री कार्यालयका कर्मचारी र साइकल आपूर्तिकर्ताले नेपाल सरकार/प्रदेश सरकारलाई बदनियतपूर्वक १० करोड ३३ लाख रुपैयाँ गरेको भनी अख्तियारले पुष्टि गरि अदालतमा मुद्दासमेत दायर गरेको उल्लेख छ ।

यति मात्र नभई मुख्यमन्त्री कार्यालयद्वारा संचालित स्वच्छता अभियान अन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक विद्यालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यीकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यीकरण, विमा योजना, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको लोकतान्त्रिक विद्यार्थी संघले ठहर गरेको छ ।

जनभावनाको विपरीत गई प्रदेशको गरिमा माथी ठेस पुग्ने कार्य भएमा आफूहरु बाध्य भएर जनतासामु प्रदेश रक्षाको निम्ति कड़ा संघर्षमा उत्रिन बाध्य हुने लोकतान्त्रिक विद्यार्थी संघले चेतावनीसमेत दिएको छ ।

लोकतान्त्रिक विद्यार्थी संघका प्रदेश अध्यक्ष मिथलेश यादवको संयोजकत्वमा केन्द्रीय विद्यार्थी नेता रोशन मिश्रको अगुवाई तथा लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झा, सचिव रोशन साह, प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघका धनुषा जिल्ला अध्यक्ष इजाज अन्सारी लगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा प्रदेश प्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाइएको छ ।