काठमाडौं, २० साउन । काठमाडौँ महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङसमेत १२ जना रहेका छन् ।

जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रुपैयाँ र ३० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुनप्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।