काठमाडौं, २० साउन । मतदाता नामावली संकलन स्थगित भएको छ ।

सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित भएको आयोगले जनाएको छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावयता २७ लाख मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएको देखिन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको संघीय र प्रदेशसभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना थिए ।

स्थानीय तह निर्वाचनपछि गत असार १ गते यता फेरि आयोगले मतदाता परिचयपत्र दिन थालेको थियो । वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म ४ लाख ४८ हजार ५१६ मतदाता थपिएको अर्यालले बताए । योसँगै अहिले १ करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन् ।