संविधान र कानूनअनुसार नै निर्वाचनको मिति घोषणा गरियो : मन्त्री कार्की

काठमाडौं, २० साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुनअनुसार नै भएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो दलसँग परामर्शसमेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टिकरण दिएका हुन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगको परामर्शअनुसार सरकारले सो निर्वाचनको मिति घोषणा गरेको पनि पटकपटक दोर्होयाए ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यता नरहेको दाबीसमेत गरे ।
उनले निर्वाचनको मिति घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन संवाद गर्न खोजेको तर सम्पर्क नभएको पनि जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


