जनकपुरधाम, २० साउन । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले शुक्रबार मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रीहरुलाई शुक्रबार दिउँसो साडी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो सामग्रीहरु फालेका छन् ।

आन्दोलनकारीहरुले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई साडी, ब्लाउज, चुरा, पेटिकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरे पनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, साडी, ब्लाउज र पेटीकोट प्रदान गर्न आफूहरु त्यहाँ पुगेको उनले बताए ।

त्यसैगरी साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ । भुमिहिन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बच्चाहरुलाई राखेर प्रदर्शन गर्ने संयोजक यादवले बताए ।

यी दुबै दिनको विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलन भन्दा पनि ठुलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।