उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधि र प्रदेशसभा निष्क्रिय हुने

काठमाडौं, १९ साउन । आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने भएको छ ।
निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उनले भने, ‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ ।’
२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उनको भनाइ छ । यही अभ्यासका आधारमा मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि निष्क्रिय हुने प्रवक्ता पाण्डेले बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनको भनाइ छ । पाण्डेले सरकारले नयाँ विधेयक ल्याउन सक्नेदेखि सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नपुग्ने बताए ।
निर्वाचनको मिति घोषणा भएसँगै संसदको कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा विभिन्न मत सार्वजनिक भएको छ । केही संविधानविद् निर्वाचनको मिति घोषणा भएसँगै संसद् स्वतः विघटन हुने बताउँछन् । केही भने मनोनयन दर्ता भएपछि मात्र सांसदको कार्यकाल सकिने बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


