काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वभाविक भएको बताएका छन् ।

बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा पहिलो आमनिर्वाचन भएको थियो । आगामी मंसिरमा हुन लागेको यो दोस्रो आमनिर्वाचन हो ।

सरकारको यो निर्णयपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन् ।