महोत्तरी, १८ साउन । महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको गौशाला नगरपालिका–४ सुर्तिविकास नजिक रजखोर बस्ने दिलीप सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ८ बजे सुर्तिविकास नजिक ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सहनीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते सहनीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सुर्तिविकास नजिक रहेको एप्पल एकेडेमी बोर्डिङ स्कुलमा सहनी आफ्नो बच्चालाई पुर्याउन गइरहेको क्रममा सुर्तिबिकास नजिक बाटोमा रहेको गोलचक्कर नजिक माईस्थानबाट गौशाला तर्फ जाँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले सहनीको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।