जनकपुरधाम, १७ साउन । प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई सोमबार पीसीआर परीक्षण गर्दा संक्रमित पुष्टि भएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्य, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई साउन १४ गते कोरोना पुष्टि भएको हो ।

प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार कोरोना संक्रमित मुख्यमन्त्री पाण्डेल हाल होम आइसोलेसनमा छन् ।