महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै चालकको मृत्यु भएको छ ।

घटना भएको दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–४ बस्ने श्याम यादवका २५ वर्षीय छोरा कृष्णा यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका–२ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेक यादवको मृत्यु भएको थियो ।

प्रदेश २–०२–००१प. ८६७९ नम्बरको मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका–२ स्थित सडकमा ठक्कर दिएका थिए ।

सो ठक्करमा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता कृष्णालाई जिल्लामा आवश्यक उपचार गराइ थप उपचारका लागि काठमाडौँस्थित बीएण्ड बी अस्पताल लगिएको थियो ।

गम्भीर घाइते भएका कृष्णालाई ११ दिनसम्म सोही अस्पतालमा उपचार भइरहेकोमा आज उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।