काठमाडौं, १६ साउन । अहिले नेपालमा कोरोनाको ग्राफ दिनानुदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा मात्रै ५ हजार १५६ कोरोना संक्रमित थपिएका छन् ।

सोमबार मात्रै थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमुना परीक्षण गरिएकामध्ये ३ हजार ६८५ जनाको पिसिआर परीक्षण र २ हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोमबार संक्रमणका कारण एकजनाको ज्यान गएको छ । अहिले नेपालमा ४ हजार ९३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने १ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो दिन ५ हजार ८४६ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यो अवधिमा २ हजार ६५१ नमुनाको पीसीआर गर्दा ४९६ र ३ हजार १९५ नुमनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ गरी ६२० जनामा कोरोना देखिएको हो । आइतबार २९७ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

त्यसैगरी शनिबार नेपालमा ४३८ जनामा कोरोना संक्रमण देखिएको थियो भने २ जनाको मृत्यु भएको थियो । सो दिन २७७ जना संक्रमणमुक्त भएका थिए ।

शनिबार देशभर ३ हजार ६९९ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । सो दिन १ हजार ७७९ नमुनाको पिसिआर गर्दा २९२ जनामा र १ हजार ९२० जनाको एन्टिजेन गर्दा १४६ जनामा कोरोना देखिएको हो ।

शुक्रबार थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने दुईजनाको मृत्यु भएको थियो । ४ हजार २८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार ७१० जनामा संक्रमण देखिएको थियो । ५ हजार २५ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।

सो दिन २ हजार ५४१ नमुनाको पिसिआर गर्दा ५२४ जनामा र २ हजार ४८४ नमुनाको एन्टिजेन गर्दा १८६ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, बुधबार देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका थिए । पिसिआर र एन्टिजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको थियो । सो दिन संक्रमणका कारण थप एकजनाको मृत्यु भएको थियो ।

त्यस्तै गत मंगलबार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ५ हजार ५५ नमुनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका थिए ।

सो दिन २ हजार २१५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४०० र २ हजार ८४० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सो दिन कोरोनाका कारण थप २ जनाको मृत्यु भएको थियो । मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका थिए ।