महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिवासमा बोलबम तिर्थालु बोकेको सवारी फरकफरक दुई स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सोमबार दिउँसो जिल्लाको बर्दिबास नगरपालिका–५ ढुङ्ग्रेस्थित बोलबम यात्रुहरु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् ।

त्यस्तै, बर्दिवास–३ पाटुस्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरका चालकहरु फरार भएकाले उनीहरुको खोजी भइरहेको तथा घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।