चितवन, १६ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार अपराह्न ४ बजे भरतपुर महानगरपालिका–२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा मुक्तिनाथ विकास बैंक धादिङमा कार्यरत १८ जना कर्मचारी घाइते भएका हुन् ।

नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ११ पुरुष, ६ महिला र एक बालिका रहेका छन् ।

घाइतेमध्ये चार जना गम्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एक महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।