काठमाडौं, १५ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जलविद्युत् उत्पादनको लागत कम गर्नेभन्दा पनि प्रतिष्पर्धी बनाउनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्युत् प्रशारण लाइन सरकार वा निजी क्षेत्र जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गर्न आयोग तयार रहेको बताए ।

उनले भने, ‘जलविद्युत् क्षेत्रको लागत कसरी घटाउनेभन्दा विद्युत् क्षेत्रलाई प्रतिष्पर्धामा लैजाऔं । प्रशारण लाइन सरकार वा निजी क्षेत्रले जसले बनाए पनि कम लागतमा बनाउने अवस्था सिर्जना गरौं र उसले जसरी हाइवयमा निजी र सरकारी सवारी चल्छ त्यसरी नै विद्युत चल्न दिऔं । मार्केट कसैले खोज्छ भने खोज्न दिऔं । बचेर उसले पैसा कमाओस् ।’

उपाध्यक्ष पौडेलले नेपालको विद्युत् व्यापारको विषयमा धेरै वहस गर्न आवश्यक नभएको बताए । उनले नेपालमा उत्पादित विद्युत् सकेसम्म नेपालमा नै खपत गर्न सक्नुपर्ने बताए ।