जनकपुरधाम, १४ साउन । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धनुषामा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायतको माग राख्दै राप्रपाले धनुषाको ढल्केवरमा विरोध प्रदर्शन गरेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा मिथिला नगरपालिकाका अध्यक्ष मदमबहादुर मोक्तानले जानकारी दिए ।

प्रदर्शनका सहभागिहरुले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, महङ्गी नियन्त्रण गर’ जस्ता नारा लगाउँदै ढल्केवर चोकको परिक्रमा गदै कृषि बजारमा कोणसभा गरेका थिए ।

कोणसभामा पार्टीका अधिकांश अगुवा कार्यकर्ताहरुले हिन्दू राज्य कायम हुनुपर्ने, राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महङ्गी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए ।

कोणसभामा बोल्दै अध्यक्ष मोक्तानले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।

विरोध प्रदर्शनमा पार्टीका जिल्ला सदस्य विरेन्द्र महतो, रामशरण मुखिया, नथुनी ठाकुर, क्षेत्रिय सदस्य बेचन महतोलगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

राप्रपाले यसअघि असार १ गते महङ्गी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रको बेवास्ता गरेको भन्दै रापप्राले असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।