सिरहा, १४ साउन । सिरहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा कीरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका अनुगमन टोलीले छापा मारेको छ ।

सेवाग्राहीको नास्तामा कीरा फेला परेको सूचना प्राप्त भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो ।

टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ ।

टोलीले गल्ति सुधार गर्न र सरसफाइमा पूर्ण ध्यान दिन होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।

अनुगमनको क्रममा उक्त होटलमा आत्यधिक खानेसामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए ।होटलमा अत्यधिक फोहोर र अव्यवस्थित तरिकाले कर्मचारी खटाइएकोले खानेसामग्रीमा कीरा भेटिनु स्वभाविक रहेको उनले बताए ।

बुधबार दिउँसो चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा कीरा फेला परेको थियो । गोलबजारका सेवाग्राही राम भरोसी यादवले कीरा परेको समोसा खादा आफू बिरामी परेको दावी गरेका छन् । उनका अनुसार होटलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटलका संचालक गणेश साहले बेवास्ता गरेका थिए ।

मान्छेको भिड्भाड हुने होटलमा कीरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देबकुमार यादवले बताए ।

उक्त होटल वरपर जिल्ला अदालत,मालपोत कार्यालय ,रेड्क्रस सोसाइटी ,वार एसोसियनलगायतका कार्यालय छन् । यसैबीच नास्तामा मरेको माहुरी भेटेको होटल सञ्चालकले स्वीकारेका छन् ।