जनकपुरधामस्थित आर्यन अटो मोबाइल्सले ग्राहकसँग चर्को ब्याज असुलेको आरोप

जनकपुरधाम, १४ साउन । टिभिएस मोटरसाइकलको जनकपुरधामका लागि आधिकारीक विक्रेता आर्यन अटो मोबाइल्सले ग्राहकसँग चर्को ब्याज असुल गरेको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने अमरेन्द्र कुमार प्रतिहस्तले आर्यन अटो मोबाइल्सले आफूसँग चर्को ब्याज असुलेको आरोप लगाएका हुन् ।
गत बैशाख १ गते जनकपुरधाम–७ स्थित आर्यन अटो मोबाइल्सबाट अमरेन्द्रले २ लाख ४७ हजार ९ सय रुपैयाँमा टिभिएसको राइडर १२५ सिसि मोटरसाइकल खरिद गरे । उनले गाडी खरिद गर्ने बेलामा २ लाख रुपैयाँ शो–रुमका कर्मचारी चन्दनलाई दिए । बाँकी रहेको ४७ हजार ९ सय रुपैयाँ दुई महिनाभित्र तिर्ने उनीहरुबिच सहमति भयो ।
गाडीको बाँकी रहेको रकम तिर्न अमरेन्द्र साउन ११ गते शो–रुम पुगे । बाँकी रहेको ४७ हजार ९ सय रुपैयाँ बुझाउन जाँदा उनीसँग चन्दनले बक्यौता रकमको ३६ प्रतिशत ब्याजदरको हिसाबले ४ हजार ३ सय रुपैयाँ जरिवाना तिर्न लगाए । अमरेन्द्र अक्क न बक्क भए ।
जबकि गाडी खरिद गर्ने बेलामा शो–रुमका सञ्चालक सञ्जिव साह र अमरेन्द्रबिच दुई महिनामै बाँकी बक्यौता तिरे कुनै प्रकारको जरिवाना नलिने मौखिक र व्यवहारिक सहमति भएको थियो ।
कम्पनीले बेलाबेलामा न्यून ब्याजदरमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याइरहेको अवस्थामा शो–रुमहरुले यसरी ग्राहकलाई ठग्नु गैरकानूनी कार्य रहेको अमरेन्द्रको गुनासो छ ।
उनले भने, ‘प्रायः शो–रुमहरुमा ग्राहकले गाडी खरिद गर्ने बेलामा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा बाँकी रकम १३ प्रतिशत ब्याजसहित २४ महिना भित्र बुझाउनु पर्ने हुन्छ । तर, टिभिएस शो–रुमले मसँग तिन महिनामै ३६ प्रतिशत ब्याजसहितको रकम तिर्न लगाएको छ । यो बिल्कुलै गैरकानूनी हो । शो–रुममाथि कारवाही हुनु पर्दछ ।’
यता, शो–रुमका सञ्चालक सञ्जिव साहले झुक्किएर कुनै नयाँ कर्मचारीले अमरेन्द्रसँग ३६ प्रतिशत ब्याजदरको हिसाबले जरिवाना तिर्न लगाएको हुनसक्ने स्वीकार गर्दै आफूले ति सबै अतिरिक्त पैसा फिर्ता गर्न तयार रहेको बताए ।

तर, शो–रुमका कर्मचारी चन्दनसँग कुरा गर्दा उनले आफूले जानीजानी अमरेन्द्रसँग ३६ प्रतिशत ब्याजदरको हिसाबले जरिवाना तिराएको बताएका छन् । उनले आफूहरु समयमा कुनै ग्राहकले बक्यौता रकम नतिरे ५० प्रतिशतसम्म जरिवाना लिने गरेको दाबी गरेका छन् ।
उनले भने, ‘कसैले केही गर्न सक्दैन् । हामी जति जरिवाना लिएपनि त्यो हाम्रो स्वेच्छा हो । ५० प्रतिशतसम्म पनि जरिवाना हामी लिने गरेका छौं ।’
टिभिएसले सुरुमा ग्राहक लोभ्याउन विज्ञापनहरुमा भने कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर खरिद गर्दा नगद छुट ९ हजारसम्म गर्ने दाबी गरिरहेको हुन्छ । त्यस्तै, किस्ताबन्दीमा खरिद गर्दा शून्य प्रतिशत ब्याजदर अनि १८ महिना इएमआई ४० प्रतिशत डाउन पेमेन्टको सुविधा, पैसा नथपी हरेक महिना ५ हजार ९९९ को इएमआइ, निशुल्क हेलमेट उपलब्ध गराउनेलगायतका विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका हुन्छन् । तर, व्यवहारमा भने अर्कै रहने गरेको अमरेन्द्रको गुनासो छ ।
आर्यन अटो मोबाइल्सले अमरेन्द्रसँग ब्याज रकम असुल गर्दा बैशाख १ देखि साउन १ गतेसम्मको ३६ प्रतिशत ब्याजदरको हिसाबले जरिवाना तिर्न लगाएपनि उनलाई गाडीको भ्याट बिल उपलब्ध गराउँदा त्यसमा बैशाख १ गतेको मिति नभई असार ३१ गतेको मिति उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


