धनुषामा १४ वर्षीया बालिका बलात्कृत, ५९ वर्षीय घिसिङ्ग पक्राउ

जनकपुरधाम, १३ साउन । धनुषामा १४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ ।
जिल्लाको मिथिला नगरपालिका–९ बेंगाडावरमा बलात्कृत बालिकाका अभिभावकले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरमा दिइएको जाहेरीका आधारमा बलात्कार आरोपित स्थानीय ५९ वर्षीय सोमबहादुर घिसिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत वैशाख ५ गते खर्साङ्गे डाडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती बालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेका थिए ।
बलात्कृत बालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डरत्रास देखाएर पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा भनिएको छ ।
घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत बालिका गर्भवतीसमेत रहेको ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
बालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंंहले बताए । उनले आरोपित घिसिङ्गलाई जबरजस्ती करणी मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गराइएको जानकारी दिए ।
बलात्कृत बालिकाको स्वास्थ्य परिक्षण गराइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


