जानकी मन्दिर परिसरमा खुद्रा व्यापारीको रजाइँ, मन्दिर परिसरमै लगाए बजार

जनकपुरधाम, १३ साउन । विश्व सम्पदामा सूचिकरणका लागि प्रयासरत रहेको जनकपुरधामको जानकी मन्दिर अतिक्रमणको चपेटामा पर्न थालेको छ ।
मन्दिर वरिपरि फुटपाथ अतिक्रमण गरी लगाइएका स–साना पसलहरुलाई हटाएर सम्पदा क्षेत्र जोगाउने प्रयास थालेको जनकपुरधाम उपमहानगरपालिकाको कदम सराहनीय रहेको जनआवाज उठिरहेका बेला अब मन्दिर परिसर नै अतिक्रमणको चपेटामा पर्न थालेको हो ।
उपमहानगरले फुटपाथमा सञ्चालित पसल हटाउने अभियान सुरु गरेपछि फूलमाला, मिठाई, सिन्दुर–टीका तथा चुरा पसलेले अहिले मन्दिर परिसरमै बजार लगाएका छन् ।
नगरप्रमुख मनोज साहले अतिक्रमण गरि लगाइएका फुटपाथ पसलहरु हटाउन तत्परता देखाएको भन्दै स्थानियबासी उनको समर्थनमा छन् । मेयर साहले मन्दिर आसपासका पसलहरु हटाउन लगाएर फुटपाथ अतिक्रमणमुक्त गराएको दुई दिन नबित्दै हिन्दु धर्मावलम्बीहरुको धार्मिक धरोहरको रुपमा रहेको जानकी मन्दिरलाई संरक्षण गर्नुको सट्टा स–साना व्यापारीहरुले मन्दिर परिसर नै कब्जा गर्नु धर्ममाथि प्रहार भएको देखिन्छ ।
मन्दिर परिसरमा गत सोमबारदेखि नै बजार लगाइएको छ । खुद्रा व्यापारीले थापेको पसल तथा पुजा सामग्री बेच्ने स–साना व्यापारीको भीडले मन्दिर परिसर अस्तव्यस्त बनेको छ भने दर्शन गर्न जाने श्रद्धालुलाई झन सास्ती भोग्नु परेको छ । मन्दिर परिसर पहिले भन्दा बढि फोहोरमय बनेको छ ।
विगतमा मन्दिरको चारैतिर फुटपाथ कब्जा गरेर सञ्चालन गर्दै आएका स–साना पसलहरु उपमहानगरले हटाएपछि खुद्रे व्यापारीहरू मन्दिर परिसरमै व्यापार गर्न थालेका हुन् । यता, स्थानीय एक खुद्रा व्यापारीले मन्दिर परिसरमा सुरु गरेको व्यापारमा आफूहरूलाई महन्त रामतपेश्वर दासको साथ रहेको र मन्दिरले आफूहरूसित दैनिक रुपमा पैसा लिइरहेको बताएका छन् । मन्दिरका महन्त दासले पैसा असुलिरहेको उनको दावी छ ।
जानकी मन्दिर व्यवस्थापनले मन्दिर वरिपरिका फूलमाला, मिठाई, सिन्दुर–टीका तथा तरकारी पसलबाट दैनिक ७० देखि १ सय रुपैयाँसम्म बट्टी उठाउँदै आएको र यसका लागि मन्दिरले दीप साह खटिक नामका एक ठेकेदारललाई नियुक्त गरेको व्यापारीहरु बताउँछन् ।
यससम्बन्धमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफूले मन्दिर परिसरमा पसल थाप्न अनुमति नदिएको बताएका छन् । उनले ती खुद्रा पसलेहरूलाई मन्दिर परिसरबाट हट्न आग्रह गरे ।
गत बिहीबार नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासन तथा युवा क्लबका प्रतिनिधिले सडक पेटीमा थापिएका पसल एवं यत्रतत्र राखिएका निर्माण सामग्री तीन दिनभित्र हटाउन निर्देशन दिएका थिए । तर, तीन दिनमा सडक पेटी खाली नगरेपछि सोमबार नगरप्रहरी लगाएर पसलेहरु हटाइएको थियो ।
नगरप्रमुख साहले नगरलाई सफासुग्घर बनाउन तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नगरभित्रका व्यस्त बजारको सडक पेटी खाली गराउनु आवश्यक रहेको र यस कार्यमा आफूलाई सम्पूर्ण नगरवासीको सहयोग चाहिएको बताए ।
महन्थ अर्बौ सम्पत्तिको मालिक
धनुषाको परवाहामा गरिब घरपरिवारमा जन्मेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास अहिले अर्बौका मालिक बनेका छन् ।
जानकी मन्दिरबाट बार्षिक रुपमा उठ्ने भेटी र चढौना झण्डै २ करोड भन्दा वढी रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । उनले नीजि सम्पति जस्तै जानकी मन्दिरको सम्पति प्रयोग गर्दै आईरहेका छन् । जसको न कुनै आयव्यय सार्वजनिक हुन्छ, न त कुनै लेखापरिक्षण नै ।
मन्दिरको आम्दनीमा मनोमानी
जानकी मन्दिर अधिनस्त पोखरी, बजार, रामजानकी बिवाह मण्डप, सांस्कृतिक संग्रहालय, फोटो ठेक्का लगायतबाट वर्षेनी १० करोड अम्दानी हुन्छ । तर खर्चको कुने लेखाजोखा छैन् । २०५४ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णव महन्थको पगडी लगाएपछि मन्दिरको श्रीसम्पति आफ्नो नीजि सम्पतिझैं प्रयोग गरिरहेका छन् । महन्त रामतपेश्वरले मनोमानी रुपले मन्दिरको सम्पति प्रयोग गरिरहेको स्थानीयको आरोप छ ।
जानकी मन्दिरको आम्दानी
– कन्या पोखरी, कपालमोचानी, महाराजसर, लक्ष्मणसर लगायत दर्जनौं पोखरीको ठेक्कावापत वार्षिक १ करोड
– रामजानकी विवाह मण्डपको ठेक्कावापत वार्षिक ३५ लाख
– बजार, फलफुल र फुटपाथ ठेक्कावापत वार्षिक २४ लाख
– सांस्कृतिक संग्रहालय ठेक्कावापत वार्षिक ३० लाख
– नटुवा नाच ठेक्कावापत वार्षिक १६ लाख
– रामजानकी विवाह मण्डप, सिडि स्टाँल र फोटो ठेक्कावापत वार्षिक १४ लाख
– जानकी मन्दिर फोटो खिचाई ठेक्कावापत वार्षिक ९ लाख
– जानकी मन्दिर परिसर प्रसाद सटर ३ थान ठेक्कावापत वार्षिक १८ लाख
– लक्ष्मण मन्दिरसँगै रहेको सटर भाडावापत वार्षिक २५ लाख
– एभरेष्ट बैंकको एटिएमबाट वार्षिक ५ लाख
– सुनैना आर्ट ग्यालरीबाट वार्षिक ३ लाख
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


