जनकपुरधाम, १२ साउन । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार दिउँसो धनषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी यादवको साथबाट दुईलाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनिहरुले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा सवार भई आएका जितेन्द्र र दिपेन्द्रले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।

शर्मिलाले बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका श्रीमान देवशरणले पठाई दिएको दुईलाख रुपैयाँ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट निकालेर उक्त नगद र आफ्नो मोबाईल समेत प्लाष्टीकको झोलामा राखि घरतर्फ फर्कने क्रममा पछाडीबाट मोटरसाईकलमा आएका उनिहरुले उनको पैसा खोसेर भागेका थिए ।

घटनापश्चात तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले घटना सम्बन्धमा विभिन्न माध्यमद्धारा अनुसन्धान गर्दै जाँदा नगद लुटेर फरार भएका व्यक्तिहरु प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाईकल लिई आएको र निजहरूले नै शर्मिलाको हातबाट नगद र मोवाईल समेतको प्लास्टिकको झोला लुटेर लगेको कुरा खुल्न आएको प्रहरी उपरीक्षक रजौरेले बताए ।

उक्त मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित कृष्ण प्रसाद साहको घरमा फेला परेको र उनको घर खानतलासी गर्दा घरभित्र रहेको सुत्ने कोठाको पलङको घर्रा (बक्स) मा शर्मिलाको हातबाट लुटेर लगेको नगद र मोबाईल मध्ये मोबाईल र नगद ५४ हजार फेला परेको थियो ।

सोही घरमा लुकीछिपी बसेको अवस्थामा कृष्णका भाई जितेन्द्रलाई फेला पारिएको थियो । जितेन्द्रलाई घटना सम्बन्धमा सोधपुछ गर्दा आफू र दिपन्द्रले मिलेर शर्मिलाको पैसा लुटि दुबैजनाले १/१ लाख रुपैयाँ बाँडेको स्वीकार गरेका थिए ।

जितेन्द्रलाई साथमा लिई दिपेन्द्रलाई खोजतलास गर्दै जाँदा उनलाई पनि आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको थियो । उनको घर तलासी गर्दा घरबाट निवेदिकाको लुटिएको रकम मध्ये ७८ रुपैयाँ बरामद भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।