जनकपुरधाम, ११ साउन । जनकपुरधामको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडी सञ्चालित औषधि पसलहरुले मनोमानी ढंगले औषधि वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभागले बुधबार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा ३ वटा औषधि पसलहरु शिल गरिएको हो ।

विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल अगाडीको अर्थोपेडिक ट्रामा क्लिनिक भित्र सञ्चालित औषधि पसलमा शिल गरिएको जानकारी दिए । क्लिनिकको नाम स्मरणमा नरहेको भन्दै तीनवटा औषधी पसलमा शिलबन्दी गरिएको उनले बताए ।

औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा र स्थानीय प्रशासनकोे सहयोगमा बुधबार गरिएको छड्के अनुगमनमा अधिकांश औषधि पसलहरुले बिक्री वितरण गर्दा बिलको प्रयोग नगर्ने, वास्तविक मूल्य भन्दा चर्को मूल्य लिने, पसल अर्काकै नाममा रहेपनि अर्कै व्यक्तिले औषधी बिक्री–वितरण गरेको भेटिएको थियो ।

जनकपुरधाममा वर्षौंदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले सञ्चालनमा रहेका छन् । विभागले नियमित अनुगमन थाल्दा जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीहरु भागाभाग भएका थिए । यस्तै अधिकांश फार्मेसीका सञ्चालकहरू अनुगमन आउनु पूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।