जनकपुरधाम, ११ साउन । मधेस प्रदेश सरकारले प्रदेश सचिवालयको निमित्त जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई चयन गरेको कार्यप्रति तराई मधेस लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।

जनकपुर चुरोट कारखानाको परिसरलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गरेको कार्यप्रति तमलोपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले जनकपुर चुरोट कारखाना लिमिटेडको परिसर देशको प्रथम निर्वाचित प्रधानमन्त्री स्व. जननायक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारको उद्योगमन्त्री र मधेसका महान विभूति शहीद रामनारायण मिश्रद्वारा त्यति बेला नेपालको औद्योगिकरणको निमित्त भए गरिएका प्रयासहरुको महत्वपूर्ण उदाहरण र स्मारक रहेको जिकिर गरेका छन् ।

जचुकाली परिसर नेपालको प्रथम निर्वाचित सरकारद्वारा देशको औद्योगिक विकासको निमित्त गरिएको प्रयासको अभिलेख रहेका विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘जनकपुर चुरोट कारखाना लिमिटेड नेपालको सबभन्दा ठूलो र सफल उद्योगको रुपमा स्थापित त रह्यो नै यसले सबभन्दा बढी राजस्व दिनुका साथै जनकपुरक्षेत्रको कृषि लगायत अन्य उद्योगलाई बढावा समेत दिएको थियो । यस परिसरलाई औद्योगिक विकासको क्षेत्रको रुपमा उपयोग गर्नु नै सर्वथा उपयुक्त हुन्छ ।’

अध्यक्ष लालले आवश्यक पूर्वाधार रहेको जचुकाली परिसरलाई साना मझौला उद्योगहरूको केन्द्रको रुपमा विकसित गरिनुपर्ने र यसो गर्दा यस क्षेत्रमा उद्योग स्थापना गर्ने र उत्पादनको क्षेत्रमा कार्य गर्ने उद्यमीहरू प्रोत्साहित हुने दाबीसमेत गरेका छन् ।

जनकपुर रेल्वे र अन्य सुविधाले गर्दा उत्पादकहरुलाई बजार पहुँच पनि सजिलै प्राप्त हुनुका साथै मधेस प्रदेश सरकार स्थापित हुँदा तत्कालको आवश्यकता हेरी जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरको उपयोग उचित नै रहेपनि यसलाई सदाको निमित्त हस्तान्तरण गर्दा यसको ऐतिहासिक महत्व गुमेर जाने तमलोपाले ठहर गरेको छ ।

मधेस प्रदेश सचिवालयको निमित्त नयाँ जग्गाको खोजी गरी निर्माण कार्यमा लाग्न सुझाव दिइएको छ । वजेटलाई बदरुप देखिने गरी बाँडफाँड र वैकासिक रणनीति बिनाको अनुपयोगी खर्चमा लगाउनुभन्दा प्रदेश सचिवालयको निर्माण बढी उपयुक्त हुने भन्दै जनकपुर क्षेत्रको निमित्त यो नयाँ र महत्वपूर्ण निर्माणको अवसर पनि रहने भनिएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले संघीय र मधेस प्रदेश सरकार दुबैलाई जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई साना मझौला उद्योगहरूको केन्द्रको रुपमा विकसित गर्न माग गरेको छ ।