नवलपरासी, ११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा बसमा आगलागी हुँदा ३३ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।

आगलागीबाट ३३ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए ।

घाइते ८ जना यात्रुको उपचार चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको उपचार मध्यविन्दु जिल्ला अस्पतालमा डण्डामा भइरहेको प्रहरीले जनाएको छ ।