अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग्यो

काठमाडौं, ११ साउन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।
बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।
समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकोले सो कागजात प्राप्त गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।
’एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन ? नजानुको कारण के हुन् ? र हामीले मागेका डकुमेण्टहरू हामीले प्राप्त गर्न नसक्नुका कारणहरू के–के हुन् ? र यो हामीले प्राप्त गर्नसक्छौँ या सक्दैनौँ प्रस्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु’ उनले भनिन् ।
त्यस्तै, प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले जानकारी दिइन् ।
उनले भनिन् – ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौँ । केको लागि जानुभएको हो ? हामीलाई जानकारी छैन । त्यसले गर्दा आधिकारिक रुपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ ।’
समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


