काठमाडौं, ११ साउन । नारायणहिटी दरबार संग्रहालयमा राजाले प्रयोग गरेका थप तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

बुधबार स्व. राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गरेका थप तीनवटा सवारीसाधन प्रदर्शनमा राखिएको हो ।पुराना सवारीसाधनको भौतिक मर्मत र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ ।

प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले राज परिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको बताए ।

उनले स्व. राजा त्रिभूवन र महेन्द्रलाई उपहारस्वरुप प्राप्त भएको र उनको परिवारले प्रयोग गरेको गाडी आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेको बताए ।

सचिव न्यौपानेले आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै जाने बताए । संग्रहालयलाई थप व्यवस्थित बनाउन बजेट छुट्याइएको र संग्रहालय दरबार संग्रहालयकै रुपमा सञ्चालन हुने प्रतिवद्धता जनाए ।

उनले भने, ‘स्व.राजा त्रिभुवनलाई उपहारस्वरुप प्राप्त भएको र उहाँको परिवारले प्रयोग गर्नुभएको गाडीहरु आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेका छौँ । आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै लैजाने छौँ ।’

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित स्व. राजा त्रिभुवनले प्रयोग गरेको सवारीसाधन प्रदर्शनीमा राखिएको बताए ।

उनले स्व.राजा महेन्द्रले प्रयोग गरेको सवारीसाधन पनि प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले राजाले प्रयोग गरेका ४० वटा सवारी साधन रहेको उल्लेख गर्दै आगामी दिनमा सबै सवारीसाधनलाई प्रदर्शनीमा राखिने बताए ।

आजबाट प्रदर्शनमा राखिएका तीन वटा सवारीसाधन स्व. राजा त्रिभूवन र स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएका सवारीसाधन हुन् । एउटा त्रिभुवनले काठमाडौंमा शिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभुवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो ।

त्यस्तै अर्को सवारीसाधन भने स्व. राजा महेन्द्रले प्रयोग गरेका थिए । जसलाई आजबाट नारायणहिटी दरबारमा सर्वसाधारणलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।