जनकपुरधाम, ११ साउन । मधेस प्रदेशका विभिन्न जिल्लाबाट गत आर्थिक वर्ष २०७८/७९ मा स्रोत नखुलेको नेपाली रुपैयाँ २ करोड १८ लाख ६५ हजार ८२० र भारतीय रुपैयाँ २२ लाख ३९ हजार ८०० बरामद भएको छ ।

प्रदेशको आठवटै जिल्लाको विभिन्न स्थानबाट प्रदेश प्रहरी कार्यालय जनकपुरधामले स्रोत नखुलेको उक्त रुपैयाँ बरामद गरेको हो ।

एकवर्षमा विभिन्न १४ वटा अवैध वित्तीय कारोवार हुण्डीको घटनाबाट उक्त स्रोत नखुलेको रुपैयाँ बरामद भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

बरामा १ र पर्सामा १३ गरी कूल १४ वटा अवैध वित्तीय कारोवार हुण्डीको घटनामा संलग्न रहेको भन्दै २३ जनामाथि मुद्दासमेत दर्ता गरिएको उनले बताए ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता कार्कीको भनाइ छ ।
उता, गत एक वर्षको अवधिमा मधेस प्रदेशमा ६३ जना मानिस हातहतियारसहित पक्राउ परेका छन् । पक्राउ परेका ६३ मध्ये ४६ जनामाथि मुद्दा दर्ता गरिएको हो । त्यस्तै, ११ थान लामो र ३७ थान छोटो हतियारहरुसमेत बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्का घटनामा ४९० को मृत्यु

मधेस प्रदेशमा गत आर्थिक वर्षमा १ हजार ८७८ विपद्का घटनामा ४९० जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ । मृत्यु भएका ४९० मध्ये ११७ महिला, २०८ पुरुष र १६५ बालबालिका छन् ।

विपद्का घटनामा परी ६१५ जना घाइते भएका छन् । घाइतेमध्ये ३१४ महिला, १९६ पुरुष र १०५ बालबालिका छन् । विपद्का घटनामा परी ९ जना वेपत्ता भएका छन् । वेपत्ता भएकाहरु मध्ये २ महिला, २ पुरुष र ५ बालबालिका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्कै घटनाहरुमा परी गत आर्थिक वर्षमा मधेस प्रदेशमा १ हजार ९१२ चौपायाको मृत्यु भएको छ भने ९९ चौपाया घाइते भएका छन् । विपद्का घटनाबाट मधेस प्रदेशमा गत वर्ष ३३ करोड १४ लाख ४ हजार ८२३ रुपैयाँ बराबरको धनमाल क्षतिग्रस्त भएको हो ।

४१३ भठ्ठी नष्ट, जुवा खेलिरहेका ९९ जना पक्राउ

मधेस प्रदेशको विभिन्न जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले ४१३ वटा भठ्ठीहरु नष्ट गरेको छ । त्यस्तै, १ लाख ९८ हजार ५८५ लिटर कच्चा पदार्थ पनि नष्ट गरिएको छ भने ४० हजार ३५२ लिटर तयारी मदिरा नष्ट गरिएको बताइएको छ । अवैध मदिरा कारोवारमा संलग्न रहेको भन्दै गत वर्ष २३ जनालाई पक्राउ गरिएको थियो ।

त्यस्तै, जुवातर्फ भने १८ वटा मुद्दा दर्ता भई ९९ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनले विभिन्न जुवाखालहरुबाट १६ थान कौरा र १२ बुक ताससमेत बरामद गरिएको जानकारी दिए । एसपी कार्कीले गत एक वर्षको अवधिमा मधेस प्रदेशमा जुवाखालहरुबाट १६ लाख ६५ हजार ३४४ रुपैयाँ बरामद भएकोसमेत बताए ।

आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशमा जम्मा ८ हजार ४५४ वटा मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

४७ करोड बढिको समाना पक्राउ

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०७८/७९ मा भन्सार छलि गरी चोरी निकासी गरेका ४७ करोड २२ लाख ६७ हजार १९८ मूल्य बराबरका विभिन्न समानाहरु पक्राउ गरेको छ ।

जसमध्ये ६ करोड १७ लाख ८४ हजार ८८२ को किराना सामग्री, १ करोड २० लाख १२ हजार ५६९ को विद्युतीय सामग्री, १८ करोड ९८ लाख १९ हजार ६१७ रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा तथा १९ करोड ६९ लाख ६३ हजार ३८१ रुपैयाँ बराबरको लत्ताकपडा, फेन्सी र अन्य सामानहरु रहेका छन् ।

प्रदेश प्रहरीले गत वर्ष १९ लाख ५९ हजार ८३८ रुपैयाँ बराबरको २८६ ग्राम ७९४ मिलिग्राम सुन र ९५ लाख ९ हजार ७१६ रुपैयाँ बराबरको १०५ किलो ७५३ ग्राम ३०७ मिलिग्राम चाँदी बरामद गरेको तथ्यांक छ । प्रहरीले भन्सार चोरी निकासीका घटनामा संलग्न रहेको भन्दै गत वर्ष २४६ जनालाई पक्राउसमेत गरेको थियो ।

लागूऔषध तर्फ १२८५ जना पक्राउ

मधेस प्रदेश प्रहरी कार्यालयले गत वर्ष लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कूल १ हजार २८५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

लागूऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोईन, २१३ लिटर डाईलेक्स डिसि, ७० हजार १२४ पिस लागूऔषध ट्याबलेट र ३९ हजार ६७ पिस लागूऔषध इन्जेक्सन बरामद गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, प्रहरीले मधेस प्रदेशमा १ हजार ५२३ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरुसँग ५ करोड ४ लाख २० हजार ८२२ रुपैयाँ जरिवाना तिर्न लगाएको छ भने नदीजन्य तर्फ ३५१ सवारी साधन र ७८ जना मानिसलाई पक्राउ गरी १ करोड ७६ लाख ७७ हजार २१४ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

उता, ३९ लाख १ हजार १९५ मूल्य बराबरको १ हजार ९३१ क्यूफिट काठ पक्राउ गरी चोरी निकासीमा संलग्न ३४ जना मानिस र ३८ थान सवारी साधन पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

५७११ सवारी दुर्घटनामा ५८५ को मृत्यु 

मधेस प्रदेशमा गत आर्थिक वर्षमा ५ हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएको छ । मृतक मध्ये ४४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका रहेका छन् ।

मधेस प्रदेशमा एक वर्षमा भएका विभिन्न सवारी दुर्घटनामा परी ९ हजार ४६४ जना घाइते भएका छन् । घाइते मध्ये ६ हजार ६३४ पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका रहेको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले मधेस प्रदेशमा गत वर्ष २ लाख ६४ हजार ३१० सवारी साधनलाई कारवाही गरी २२ करोड ४४ लाख ४० हजार ५०० रुपैयाँ राजश्व उठाएको छ । गत आर्थिक वर्षमा ५६४ वटा दुर्घटनाका मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।