जनकपुरधाम, १० साउन । जनकपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राजकुमार साहमाथि उनले नै नियुक्त गरेका पदाधिकारीले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

जेसीजको विधान अनूरुप अध्यक्ष साहले महासचिवमा मनोनित गरेका अजय कुमार गुप्ताले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

जनकपुर जेसीजमा विगत केही दिनदेखी भइरहेको जेसीजको मुल्यमान्यता, विधान विपरीतका क्रियाकलापहरू तथा विभिन्न सामाजिक सञ्जाल एव अनलाइनहरुको समाचारमार्फत जेसीजको बारेमा निकालिएको समाचारप्रति गम्भिर हुँदै समाधानका लागि अध्यक्ष साहले साधारणसभा आह्वान गरेका छन् ।

मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष साहले जेसीजको गरिमालाई बचाउन आवश्यक रहेकोले जेसीजका सदस्यहरूले यसमा भइरहेको गलत क्रियाकलापलाई ठिक गर्न लिखित निवेदन दिई अपरझट साधारण सभा बैठक बोलाउन माग गरेकोले सोही अनूरुप बैठक बोलाइएको बताए ।

उनले जेसीजका महासचिव अजय कुमार गुप्ता र कोषाध्यक्ष उपेन्द्र कुमार साहले जेसीजविरुद्व विभिन्न नकारात्मक भ्रम फैलाएको र कोषाध्यक्ष साहले जेसीजको नाममा मेगा बैंकमा रहेको खाताबाट आफूखुसी १ लाख ४० हजार रुपैयाँ झिकेर व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपसमेत लगाए ।

अध्यक्ष साहले कोषाध्यक्ष साहको नामले बैंकबाट रकम झिकेकोमा संस्थामा भएको आर्थिक चलखेलमा उनको संलग्नता रहेको भन्दै जेसीजको विधानको धारा २७ को ४ अनुसार उनलाई आर्थिक चलखेलको लागि कारवाही गरिने बताए ।

त्यस्तै, महासचिव अजय कुमार गुप्ताले पनि जेसीजको गरिमालाई ख्याल नगरि, संस्थाको हित विपरीत, नीति नियम भन्दा बाहिर गई अध्यक्षलाई मानहानी गर्ने किसिमले संस्थामाथी नै प्रश्न चिन्ह खडा गर्न अध्यक्षलाई पत्र काटेको र अध्यक्षलाई कुनै पनि जानकारी नदिइ सूचना सम्प्रशेन गरेकोले गुप्तालाई जेसीजको विधानको धारा २७ को ४ र विधानको धारा २७ को २ अनुसार अनुशासनहिनताको कारवाही गरिने उनले बताए ।

अध्यक्ष साहले साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कारवाही हुने दावी गरेका छन् । उनले आफूमाथीको दोष सावित भए आफू पद छाडन तयार रहेको समेत बताए ।