काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी गर्नेक्रममा पक्राउ परेका तीनजना रिहा भएका छन् ।

सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवाले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारासहित प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए ।

पक्राउ परेका अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्कालाई आज बिहान छाडिएको हो । मालिगाउँ प्रहरी वृत्तमा राखिएका उनीहरूलाई सचेत गराएर छाडिएको प्रहरी स्रोतले बताएको छ ।

उनीहरू तीनैजनाले आफूलाई स्वतन्त्र नागरिक बताएका छन् ।