प्रकृति हाम्रो लागि वरदान

–ज्योति झा
जनकपुरधाम, १० साउन । प्रकृति, जस बिना हामि आफ्नो जीवनको परिकल्पना पनि गर्न सक्दैनौं । मानव भन्दा पहिले प्रकृतिको निर्माण भएको छ । प्रकृति मानव भन्दा पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहनेछ । प्रकृतिले नै हाम्रो अस्तितव छ । यो प्रकृति हाम्रो लागि वरदान हो ।

घर बनाउन देखि लिएर बाच्नलाई चाहिने अक्सिजन हामीले प्रकृतिबाटै पाउँछौं । रूख विरुवाले हामीलाई थरिथरिका फलफूल दिन्छन् भने स्वास्थ्य बिग्रिदा चाहिने औषधि पनि प्रकृतिबाट नै पाइन्छ । प्रकृतिले हाम्रो पालन पोषण मात्र नभई यसले हामीलाई सुरक्षा कवज प्रदान गर्छ । बिना हावा, जमीन, पानी, आगो, आकाश हामी यो धर्तीमा बस्न सक्दैनौं । हामी आफ्नो छेउछाउमा जे जति हेर्छौं त्यो सब प्रकृतिको हिस्सा हो । फूल, वातावरण, जीवजनावर, घाम यो सबैले हाम्रो पर्यावरणलाई झन सुन्दर बनाएको छ । हाम्रो पर्यावरण नै प्रकृति हो । संसारमा सबभन्दा ठुलो कोही छ भने त्यो हो प्रकृति ।

हामी मानिस एक अर्कासँग भेदभाव गर्छौं, छुवाछुत जस्तो नकारात्मक भावना राख्छौं जबकि प्रकृतिले कसैसँग कुनै प्रकारको भेदभाव गर्दैन । प्रकृतिको जे जति तत्व छ आकाश, माटो, रुख, पहाड, हिमाल, फलफूल यो सबै तत्व सबैको लागि समान छ । जब प्रकृतिले हामीसँंग भेदभाव गर्दैन भने हामी मानिस भेदभाव गर्ने को ? के को घमण्ड छ हामी मनुष्य जातिमा ?

न त जीवन, न त शरीर हाम्रो । यो त नाशबान छ । आज न भोलि यही माटोमा मिल्ने हो हामी अनि के–को अहम ? प्रकृति छ अनि हामी छौं !

हामीले खाने खाना भात, दाल, तरकारी अथवा जे भए पनि त्यो सब प्रकृतिले नै दिएको हो । हामी १५ दिन खाना खाएनौं भने ओछ्यानबाट उठन पनि सक्दैनौं र काम गर्नु त टाढै जाओस् । तर पनि हामी यही प्रकृतिलाई चुनौति दिन्छौं, यसलाई सखाप गर्नमा लागेका छौं ।वातावरण दुषित गरिरहेका छौं ।

हुनत लकडाउनका कारण मानिसलाई धेरै समस्याहरूको सामना गर्नु पर्यो तर यसले वातावरणलाई सफा र स्वच्छ गरिदिएको थियो । लकडाउनका कारण सबै उद्योग र कलकारखानाहरू बन्द थिए । यातायातका साधनहरु बन्द थियो । कार्बन उत्सर्जन रुकेको थियो । र यसले धेरै देशमा बिगतका बर्षहरुको तुलनामा प्रदुषण ५० प्रतिशतले कम गरेको थियो । तर म यो भन्दिन कि त्यो राम्रो थियो किनभने यसका नकारात्मक प्रभाव पनि कम थिए ।

अहिले मानिस पैसाको पछाडि बौलाईसकेका छन् । एक अर्कोलाई पीडा, दुःख दिएर भए पनि अन्याय, अत्याचार, भ्रष्टाचार गरेर भएपनि अगाडि बढ्न खोज्छन् । जबकि पैसा न त हामी खाने हो न लिएर जाने हो । हामी अमर छैनौं, सूर्य र चन्द्रमा जस्तो सदैव रहने होईन । तर पनि मानिस यो प्रकृतिलाई नाश गर्न सकभर प्रयासमा लागेका हुन्छन् । ठूला ठूला महल बनाउन उब्जाउ भूमि नाश गर्छन, बाटो बनाउन रुख बिरुवा जंगल कटान गर्छन ।

त्यसैले स्वार्थ, अपहेलना, भ्रष्टाचार लगायतका गतिविधीको परित्याग गरि एक अर्कालाई सहयोग गरौं । भ्रष्टाचार गरेर कमाएको करोडौं रुपैयाँ स्थायी सम्पत्ती हुँदैन् । यो संसारमा कोहि ठुलो छ भने त्यो हो प्रकृति । जसलाई नष्ट गरेर हामी अहिले ठुलठुला महल बनाईरहेका छौं । भ्रष्टाचारको सिमालाई पार गरि मानवताको घाँटी निचोडेर लुटतन्त्र मचाईरहेका छौं । कृपया प्रकृति भन्दा ठुलो आफुलाई कहिल्यै नठान्नुस ।

प्रकृतिले समय समयमा हामीलाई सचेत गराउँदै आईरहेको सर्वविदित छ । कहिले विनाशकारी भुकम्प, कहिले बाढिपहिरो त कहिले प्राकृतिक प्रकोप ।

त्यसैले प्रकृतिको सम्मान गरौं ! पर्यावरण बचाऔं । यसले हाम्रो रक्षा मात्र नभई हाम्रो वरिपरिका सौन्दर्यता र वातावरणलाई राम्रो बनाउँछ ।



तस्बिरहरु : ज्योति झा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


