जनकपुरधाम, ९ साउन । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको हो ।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देबशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन ।

झोलामा २ लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रहेको उनले बताएकी छन् ।

प्रहरीले लुटेराहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।