जनकपुरधाम, ९ साउन । धनुषा र रौतहटमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

धनुषामा पोखरीमा डुबेर दुईजनाको र रौतहटमा नहरमा डुबेर एकजनाको मृत्यु भएको हो ।

धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय शेरू रानामगरकी १३ वर्षीया छोरी कुसुम राना मगर र रस्मित मगरकी १२ वर्षीया छोरी स्वीकृती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रौतहटको वृन्दावन नगरपालिका–६ मा शेख मनिरको ८ वर्षीय छोरा शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।