पर्सा, ९ साउन । पर्सामा ४ वर्षीया एक बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२ का १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर–१६ का १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।

बिहीबार साँझदेखि हराएको बालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा बालिकाको शव फेला पारेको थियो ।

प्रहरीले घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गर्दा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेको खुल्न आएको हो ।

जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार रहेका एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।