जनकपुरधाम, ९ साउन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धनुषाबाट सहभागी उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।

धनुषाका ५ हजार ९५३ जना उम्मेदवारले निर्धारित समयमा निर्वाचन खर्च विवरण अहिलेसम्म पनि नबुझाएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

आयोगले असार २५ गतेसम्म नै खर्च विवरण बुझाउन अन्तिम समय निर्धारण गरेपनि धनुषामा हालसम्म ४१० जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ ।

धनुषाका १८ स्थानीय तहमा ८८१ पदका लागि निर्वाचन भएकोमा ६ हजार ३६३ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दर्ता गराएका प्रमुख पदका ३८ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रमुख पदमा खर्च विवरण बुझाएकामध्ये १० जना प्रमुख/अध्यक्ष रहेका छन् ।

सबैभन्दा बढी निर्वाचन खर्च विवरण डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बुझाएको कार्यालयले जनाएको छ ।

खर्च विवरण पेश गर्न बाँकी रहेको उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय धनुषाले अनुरोध समेत गरेको छ । चुनावको प्रचारशैली र तडकभडक हेर्दा आयोगले तोकेको सीमाले चुनाव खर्च पुग्न सक्नेमा यहाँका मतदाता सशंकित रहेको बताउँछन् ।

जिल्ला समन्वय समिति धनुषाको सभापति चयन भएपछि कार्यालयले थप एक महिना समय दिएको थियो । कार्यालयले असार ८ गते पुनः पत्राचार गर्दै उम्मेदवारी दिएका सबैलाई निर्वाचन खर्च विवरण बुझाउन भनेको थियो ।

तर, पत्रको बेवास्ता गर्दै उमेदवारहरूले खर्च विवरण बुझाउन आलटाल गरिरहेका छन् । सो समयमा नबुझाउने उम्मेदवारलाई आयोगले संघीय कानुनबमोजिम कारबाही गर्ने तयारी गरेको छ ।

‘राजनीतिक दल वा उमेदवारले निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेस गर्नुपर्ने,’ आयोगले जारी गरेको पत्रमा अगाडि लेखिएको छ, ‘दफा २४ बमोजिम हदभन्दा बढी खर्च गर्ने वा दफा २५ बमोजिम तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने निज दल वा उमेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना हुन सक्नेछ ।’