काठमाडौं, ९ साउन । गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्ताबेज रहेको बताएका छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ । नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए ।

विधेयकमा केही कमीकमजोरी भएपछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए ।