महोत्तरी, ८ साउन । महोत्तरी प्रहरीले लागूऔषधसहित एकै घरका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली–१० बस्ने प्रदीप सेन्चुरी, उनकी श्रीमती दिलमाया भुजेल र प्रदीपका आफन्त २२ वर्षीय विशाल सेन्चुरी रहेका छन् ।

आइतबार अपराह्न औरही कठुधारास्थित प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट–१० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार तीनैजना बर्दिबास–सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा शंकाका आधारमा चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको थियो ।

पक्राउ परेका उनीहरु अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा छन् । उनीहरुलाइ जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।