काठमाडौं, ८ साउन । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी आगामी निर्वाचनको चुनावी मुद्दा बनाउन लागेका बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै त्रिपाठीले आगामी संघ र प्रदेशको निर्वाचनमा संविधानको मर्ममाथि प्रहार हुनेगरी चुनावी मुद्दा बन्न लागेको बताएका हुन् ।

उनले ठूला राजनीतिक दलहरू संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षताकाथि प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाए ।

उनले भने, ‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ ।’

उनले दलहरु प्रतिगामी नारामा लिप्त भएको बताए । उनले यस्तो मुद्दाले लोकतन्त्र जोखिममा पर्ने उल्लेख गरे ।

त्रिपाठीले बैंकहरु नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणी गरे । बैंकहरुले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको बताए ।

बैंकहरुले कानूनले निर्धारण गरे बमोजिमको लगानी कृषि क्षेत्रमा लगानी नगरेको भए पनि राष्ट्र बैंक लाचार भएर बसेको उनको भनाई छ ।