१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँचजना पक्राउ

पर्सा, ८ साउन । पर्सा प्रहरीले १४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोका सञ्चालक सदाम हुसेन, स्टुडियोमा काम गर्ने वडा नम्बर–१० का फैयाज आलम, वडा नम्बर–२४ बस्ने गणेश मोबाइल पसलका सञ्चालक संजित गुप्ता, वडा नम्बर–९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक कुन्दन यादव र सोही ठाउँ बस्ने गढीमाई स्टुडियोका सञ्चालक प्रदीप साह रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको गेटमा रहेको फ्रेस फोटो स्टुडियोका सञ्चालक हुसेनले धोबिनी गाउँपालिका–१ बस्ने सागिर आलमसँग राहदानी फारम भर्नका लागि फारम चार्जवाउत २ सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनि २ हजार ५ सय रुपैयाँ लिएका थिए ।
आफूसँग स्टुडियो सञ्चालकले पैसा लिएको भनि आलमले प्रहरीलाई जानकारी गराएपछि अनुसन्धानको क्रममा हुसेनसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिए ।
पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको डीएसपी कार्कीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


