काठमाडौं, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।

उनले सबै दलसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रहसमेत गरे । पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुसरण गरेर अघि बढन सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङ्देनले दाबी गरे ।

नेपाल–चीन हिमालयनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्तास्वार्थकै लागि दलले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढन गएको तर्कसमेत गरे ।

अध्यक्ष लिङ्देनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोर्होयाए ।