ओली नेतृत्वको सरकारलाई हटाउने काममा विदेशीको साथ : अध्यक्ष यादव

काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।
अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।
नेपाल–चीन हिमालयनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतैनकतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे ।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको पनि उल्लेख गरे ।
’हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँसँगसँगै म उहाँकै क्याविनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनु भएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतैनकतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ,’ उनले भने, ’राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारण धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।’
अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ थियो ।
मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भूराजनीतिले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


