प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए ।
भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो ।
उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।
को हुन् पुष्पा
अर्घाखाँची पोखराथोककी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् ।
महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।
२०१७ फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् ।
उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन ।
त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल ।
उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् भुसाल । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन् ।
२०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुन पुगेकी थिइन् ।
तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


