जनकपुरधाम, ३१ असार । धनुषा प्रहरीले भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखेको जनकपुरधामस्थित एक घरमा छापा मारेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिरको छेउमा रहेको एक घरमा शुक्रबार दिउँसो प्रहरीले छापा मार्दा ठुलो परिमाणमा मेडिकल सामग्री फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले मेडिकल सामग्री फेला परेपछि घरमा रहेका तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरु भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको डीएसपी बस्नेतले बताए ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।