नागरिकता सम्बन्धी विधेयक सच्याउन सरकारलाई थापाको आग्रह

काठमाडौं, ३० असार । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक सच्याउन आग्रह गरेका छन् ।
विधेयकमा राखिएको आमाको नामबाट नागरिकता पाउने मुल कानुनमा भएको व्यवस्था भन्दापनि संकुचित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
आमाले गरेको स्वघोषणाका आधारमा बाबु पत्ता नलागेकालाई नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए । निजले, निजको छोराछोरीले स्वघोषणा गर्नुपर्ने भनेर अप्ठेरो पार्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘महिलाले विदेशी पुरुषसँग बिहे गरेको छ उसले आफ्ना सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन्न भन्यो त्यस्तो अवस्थामा के गर्ने ? त्यसको बारेमा पनि यो विधेयकले बोल्दैन । लैङ्गिक समानताको आधारमा पनि व्यवस्था हुन आवश्यक छ ।’
उनले बैबाहिक अंगीकृतको बिषयमा राजा वीरेन्द्रको पालादेखि २०७२ सालसम्म एउटै व्यवस्था रहेको बताए । सांसद थापाले संविधान बनाउने बेलादेखि लामो समय कानुन बनाउन नसक्दा लाखौँ मानिसहरु नागरिकता पाउनबाट बञ्चित रहेको उल्लेख गरे ।
जसले जन्म सिद्धका आधारमा नागरिकता पाइसकेकाहरुका सन्तानले वंशजको नागरिकता पाउने उनको भनाइ छ । गैर आवासीय नेपालीलाई नागरिकता दिने कुरापनि सकारात्मक रहेको थापाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


