जनकपुरधाम, २७ असार । महोत्तरीको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुखले कमिसनको चक्करमा कमसल निर्माण सामग्रीको प्रयोग गर्न लगाएको आरोप लगाइएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय महोत्तरीका डिभिजन प्रमुख बरुण लाल कर्णले आफ्नै कार्यालय परिसरभित्र भइरहेको निर्माण काममा कमसल सामग्रीको प्रयोग गर्न लगाएको आरोप लगाइएको हो ।

यसैबिच, सञ्चारकर्मीले समेत उनको कार्यालय परिसरमा भइरहेको निर्माण कार्यको अवलोकन गर्दा निर्माणमा दुई नम्बर ईंटाको प्रयोग गरिरहेको पाइएको थियो । त्यहाँ प्रयोग गरिएका ईंटा दुई नम्बर रहेको सहजै देखिएको थियो ।

अवलोकन गर्न जाँदा ईंटालगायतका अन्य निर्माण सामग्रीहरु कमसल प्रयोग गरिएको थियो ।

यसबाहेक उनले करोडौंको योजनाहरुलाई टुक्रा–टुक्रामा विभाजन गरि आफ्ना आफन्तहरुलाई निर्माण कार्यको जिम्मा दिएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

उनले यस कार्यालयमार्फत भएका अन्य निर्माण कार्यहरुमा पनि डिभिजन प्रमुख कर्णको प्रत्यक्ष संलग्नतामा निर्माणमा प्रयोग गरिने ग्राभेल र बेसमा पनि कमसल सामग्री प्रयोग गरिएको बताए ।

प्रमुख कर्णले कमिसनको चक्करमा करोडौंको योजनाहरु आफ्ना आसेपासेलाई बाँडेर गुणस्तरहीन काम गर्न लगाएको उनले जानकारी दिए ।

आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई निरन्तरता दिइएको उनको जिकिर छ । प्रमुख कर्णले आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर आयोजनाको जिम्मा दिई बजेट दुरुपयोग गरेको उनले बताए ।

स्थानीय दशरथ साहले सरकारीस्तरबाट खर्च हुने बजेटलाई जेनतेन खर्चिनुभन्दा तिनको सदुपयोग गर्नु आवश्यक रहेको बताए ।

‘असारे विकास’का माध्यमबाट बजेट सक्ने चटारोले रकमको दुरुपयोग बढाउनुका साथै गुणस्तरमा पनि प्रश्न उठेको उनको भनाइ छ ।

यससम्बन्धमा डिभिजन प्रमुख कर्णले फोनमार्फत कुनै प्रतिक्रिया दिन मानेनन् । उनले कार्यालयमा आएर बुझ्न भन्दै फोन काटेका थिए ।

आर्थिक बर्षको अन्त्यमा आएर मधेस प्रदेशका जिल्लाहरुमा विकासे बजेट सक्न भ्याई नभ्याई रहेको देखिएको थियो ।

आर्थिक बर्षको अन्त्यमा काम गर्ने पुरानै प्रवृत्तिका कारण विकासे अड्डाहरुमा सत्ताधारी पार्टीका नेता तथा कार्यकर्ताहरूको भीडभाड बढेको थियो ।

स्थानीय स्तरमै उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहेपनि मन्त्री, नेता र सांसदहरुको सिफारिसमा गठन भएका उपभोक्ता समितिमा सत्ताधारी पार्टीको हालीमुहाली रहेको सहजै देख्न सकिन्थ्यो । यस प्रदेशमा योजनाहरु बिक्री पनि गरिएको प्रमुख प्रतिपक्षको आरोप छ ।

वर्षभरि कामै नगरी आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हतार–हतार देखावटी काम गर्ने पुरानो प्रवृति यथावत रहेको देखियो ।

परिणाममुखी कार्यक्रम गर्नुको साटो अनावश्यक कार्यक्रममा रकम खर्चिएका उदाहरण मधेस प्रदेशमा प्रशस्तै छन् ।