बाबुरामले अलगै बैठक डाकेपछि अध्यक्ष उपेन्द्र यादव रुष्ट

काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अलगै बैठक डाकेपछि अध्यक्ष उपेन्द्र यादव रुष्ट भएका छन् ।
संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक डाकेका हुन् ।
जसपाबाट बाहिरिन लागेको बाबुराम पक्षले अध्यक्ष यादवलाई काउन्टर दिँदै २८ र २९ असारमा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । यसअघि नै अध्यक्ष उपेन्द्रले २९ र ३० असारमा वीरगञ्जमा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।
बाबुराम पक्षले काठमाडौंमा बोलाएको बैठकप्रति यादव पक्षले असन्तुष्टि जनाएका छन् । यादव पक्षले सो बैठक आधिकारिक नभएको भन्दै सर्कुलर नै जारी गरेको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै बाबुराम पक्षको बैठकमा नजान भनेका हुन् ।
उनले बाबुराम पक्षलाई अराजक र गैरजिम्मेवार व्यक्तिको संज्ञा दिँदै विभिन्न माध्यमबाट भ्रम फैलाइरहेको आरोप लगाए । उनले सो दिन काठमाडौंमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराएका छन् ।
‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


