विभिन्न विधाका स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रम देउवा

काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्य लगायतका विधामा योगदान दिने स्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।
उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए ।
स्रष्टा र साधकलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए ।
उनले भने, ‘स्रष्टा र साधकको सम्मानबाट उहाँहरूले सम्बन्धित क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरूलाई आफू संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ । यसै तथ्यलाई मध्येनजर गरि सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरूको स्थापना गरेको हो ।’
प्रधानमन्त्री देउवाले स्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा स्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


