जनकपुरधाम, २४ असार । जनकपुरधाममा दिनदहाडै एक व्यवसायीको गोली हानेर हत्या गरेका आरोपितलाई जिल्ला अदालत धनुषाले सफाइ दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या आरोपी जनकपुरधाम–१४ मुजेलिया बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको हो ।

न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले दामोदरलाई सफाइ दिइएको छ ।

उक्त मुद्दामा अभियोग दाबी अनुसार प्रमाण नपुगेका कारण अदालतले सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए ।

६ कार्तिक २०७६ मा मुजेलियास्थित दामोदरको घरमा उधारो इन्धनको पैसा माग्न जाँदा साहको गोली दागेर हत्या गरिएको थियो । घटना लगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद गरेको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति सिर्जना हुँदा पंकजले गोली प्रहार गरेका थिए । गोली लागेर मनोजको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै अमित भागेर नजिकै रहेको मुजेलिया प्रहरीचौकी पुगेका थिए ।

हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी जिल्ला अदालत धनुषामा मुद्दा अभियोजन गरिएको थियो । निर्माण व्यवसायी पंकजले मनोजले धनुषाको सपहीमा सञ्चालन गरेको पेट्रोल पम्प शिव आयल स्टोरबाट डिजेल र पेट्रोल लिएका थिए । इन्धनको बाँकीबक्यौता ८ लाख रुपैयाँको लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो ।

पंकजले उनको हत्या गरेको निष्कर्षसहित जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकारसम्मेलन गरी घटना सार्वजनिक गरेको थियो । प्रहरीका अनुसारा सो बेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार गरेका थिए ।

चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो ।