मिटरब्याजी साहका छोराछोरी पुर्पक्षका लागि कारागार चलान

सप्तरी, २३ असार । सप्तरी जिल्ला अदालतले मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजु बहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।
मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ ।
सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ ।
सप्तरीकै ९ जनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन् । थुनछेक बहस चलिरहँदा अदालतको मूल ढोकामा बुधवार पनि पीडितहरुले प्रदर्शन तथा नाराबाजी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


