काठमाडौं, २३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ । अर्थमन्त्रीको पार्टीको गोपनीयता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी छ ।’

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिए ।