काठमाडौं, २३ असार । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि मरासिनी काममा फर्किएका हुन् ।

मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाका अनुसार बिरामी भएको भन्दै बिदा बसेका सचिव मरासिनी बिहीबार काममा फर्किएका हुन् ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे छानबिन गर्न संसदीय विशेष समिति बनेसँगै अर्थमन्त्री शर्माले राजीनामा दिएका छन् ।

शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन गरेको आग्रहअनुसार बिदा छोट्याएर बिहीबारबाट काममा फर्किएका हुन् ।

बजेट निर्माणलगायतका विषयमा अर्थमन्त्री शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका थिए ।

बुधबार बिहान मरासिनीले मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका थिए ।