प्रधानाध्यापक महराले न्याय पाउनु पर्ने माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम, २१ असार । धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापक मदन महराले न्याय पाउनु पर्ने माग गर्दै मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।
संयुक्त दलित संघर्ष समितिले प्रधानाध्यापक महरालाई कालोमोसो गरी दुर्व्यवहार गरिएको घटनामा संलग्न दोषीहरुले सजाय पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
रेल्वे स्टेशनबाट सुरु भएको विरोध रयाली भानुचोक, कदमचोक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा दलित अगुवाहरुले पीडितलाई न्याय दिलाई घटनाका आरोपितहरुलाई कारवाही गर्नुपर्ने माग गरे । उनीहरुले घटनामा संलग्नलाई कारवाही नभएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिए ।
प्रधानाध्यापक महरा दलित समुदायकै भएकाले उनीमाथि अनाहकमै कालोमोसो दलिएको भन्दै उनीहरु आक्रोसित बनेका हुन ।प्रदर्शनकारीहरु मुखमा कोलोमोसो लगाएरै पद्रर्शनमा सहभागि भएका थिए ।
गत असार ११ गते शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकले भिड मच्चाई प्रधानाध्यापक मदन महरामाथी कालोमोसो दलेको थियो ।
सो गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रम्ह्देव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरामाथी कालोमोसो दलेका थिए ।

विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि गैर लोकतान्त्रिक शैलीमा हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको आरोप लागेको छ । सोही क्रममा विद्यालयका कार्यालय सहयोगी जितनारायण यादवले प्रधानाध्यापकलाई बचाउन खोज्दा उनीमाथि पनि कुटपिट गरिएको थियो ।
प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैर अभिभावक रामनाथ यादव र सुजित यादवले हो–हल्ला मच्चाई कुटपिटमा उत्रेको प्रधानाध्यापक महराले बताए ।
घटनाको विद्यालय, शिक्षक, अभिभावकले समेत भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग अघि सारेका छन् भने पीडित प्रधानाध्यापक महराले दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जाहेरीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


